• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Interview, News, Photo » प्रचण्डसँग ‘बाबु-छोरा’ सम्बन्ध राख्ने ‘दुर्गे’ बिएन्डसीका सञ्चालक
प्रचण्डसँग ‘बाबु-छोरा’ सम्बन्ध राख्ने ‘दुर्गे’ बिएन्डसीका सञ्चालक


        ‘प्रचण्डसँग तपाईंको सम्बन्ध के?  ‘बाबु-छोराको हो।’

सोध्ने धेरैलाई बिएन्डसी मेडिकल कलेजका ‘हर्ताकर्ता’ दुर्गा प्रसाईं यसै भन्छन्।

‘मेरो कलेजलाई सम्बन्धन दिएनन् भने मेची अञ्चल टुक्र्‍याइदिन्छु’ भन्ने गर्छन्। सेतोपाटीसँगको संवादमा उनले ‘नेपालबाट हैन, म भारतबाट सम्बन्धन लिन्छु’ पनि भने।

झापाका नवधनाढ्य प्रसाईंसँग नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको नाम जोडिएको छ। हुन पनि प्रधानमन्त्री दाहाल कार्यकारी प्रमुख भएपछि प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिलाउने प्रयास पटक-पटक भइरहेकै छ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको २२ दिन लामो सत्याग्रहपछि भएको सम्झौताको मसी सुक्न नपाउँदै बिएन्डसी कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री दाहालले भित्रभित्रै पहल गरेका छन्।  

दसौं अनसनको २२ औं दिन आइतबार डा. केसीसँग गरेको सम्झौताविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री धनिराम पौडेलले बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएका हुन्।

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पारित नहुञ्जेल नयाँ मेडिकल कलेजको निम्ति मनसायपत्र जारी, पुराना आसयपत्र नवीकरण, नयाँ मेडिकल कलेजलाई सम्बन्धत तथा विस्तारित कार्यक्रमको अनुमति कार्य सबै रोक्का गरिनेछ,’ सम्झौताको पाँच नम्बर बुँदामा उल्लेख छ।

यी सबै कार्य उक्त विधेयक पारित भएपछि त्यसैमा व्यवस्था गरेबमोजिम हुने पनि सम्झौतामा छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ व्यवस्थापिका संसदमा पेस भई विचाराधीन छ।

२०६२/०६३ सालसम्म खास जिल्लाको राजनीतिक बृत्तमै ‘गिन्ती’ मा नआउने उनै प्रसाईं अहिले पार्टीका केन्द्रीय नेतामात्र हैन, देशकै कार्यकारीलाई नियम र डा. केसीसँग भएको सहमतिविरुद्ध गएर अस्पतालको पक्षमा उभिन लगाएका छन्।


बिएन्डसीलाई नजिकबाट चिन्ने झापाका एक राजनीतिज्ञ भन्छन्, ‘झापा आउने लगभग सबै पार्टीका नेता उनको अस्पतालमा गएर चिया नखाई फर्किंदैनन्।’

दाहाल बिएन्डसी गएका बेला धेरैपटक ‘यो दुर्गेले केही गर्छ’ भन्दै मुसुमुसु हाँसेका छन्। दाहाल झापा जाँदा ‘दुर्गे’को अस्पताल नपुगी फर्केको रेकर्ड छैन। प्रसाईं आफूलाई अक्सर ‘दुर्गे’ भन्ने गर्छन्।

‘प्रचण्डसँग यस्तो सम्बन्ध कसरी बन्यो, हामी नै अचम्ममा पर्छौं, उनले एकदमै माया गरेको मान्छे हुन् प्रसाईं,’ ती राजनीतिज्ञ भन्छन्।

प्रसाईं कार्यकारी निर्देशक रहेको बिएन्डसीको सम्बन्धन चर्चामा आउँदा प्रधानमन्त्री जोडिएका छन्।

झापाका विभिन्न दल, सञ्चारकर्मी, उद्यमीहरूका अनुसार प्रसाईं हर्ताकर्ता हुन्, बिएन्डसीका। यदि उनी हुन्थेनन् भने बिएन्डसी नै जन्मिने थिएन र न दाहाल-प्रसाईं सम्बन्ध यति चर्चामा आउँथ्यो।

प्रधानमन्त्री दाहालसँग तपाईंको सम्बन्ध के हो? भन्ने सेतोपाटीको प्रश्नमा उनले भने, ‘शिक्षा स्वास्थ्य क्षेत्रसँग जोडिएको कुन व्यक्तिको सम्बन्ध कुलपति (प्रधानमन्त्रीसँग) हुन्न?’

तपाईँ त अरुलाई प्रचण्ड मेरो बा’ हुन् भन्नुहुन्छ रे भन्ने प्रश्नमा प्रसाईंले भने, ‘प्रचण्डको छोरा त प्रकाश हो, म कहाँको प्रसाईं (हास्दै)।’

दुर्गाका अनुसार बिएन्डसीको चलअचल सम्पत्ति ५ अर्ब छ। बिएन्डसीमा इन्दिरा गिरी अध्यक्ष हुन्, निराजन प्रसाईं, उनी र डा. अमरनाथ ठाकुर सञ्चालक छन्। स्रोतका अनुसार यसको संरचना बन्न थालेको त्यस्तै अढाई वर्ष पुगेको छ।

‘म ऋणमा अस्पताल चलाइरहेको छु, पाँच अर्ब लगानी छ,’ प्रसाईंले भने, ‘माथेमा र गिरी प्रतिवेदनले राजधानीबाहिर मेडिकल कलेज नखोल्नू भनेको छैन, गोविन्द केसीले भन्दैमा हुन्छ?’

उनको आक्रोश छ, मेडिकल कलेजलाई खेदियो। ‘भौतिक पूर्वाधार भरपुर छ, पाँच छ सयलाई रोजगारी दिएको छु,’ उनले भने, ‘मेची अञ्चलमा एउटा पनि राम्रो अस्पताल छैन, मैले खोल्न खोज्दा किन भाँजो?’

प्रसाईंको आर्थिक उन्नतिबारे धेरैले चासो राख्छन्। विर्तामोड-६ बस्ने उनले गिरी परिवारसँग सम्बन्ध जोडिएपछि आर्थिक फड्को मारेको बताइन्छ। विर्तामोडको खानदानी गिरी परिवार उनको ससुराली हो।

ससुरा बलराम र सासु चन्द्रकलाका नामबाट उनले अस्पताल नाम बिएन्डसी राखेको बताउने गरिन्छ।

ससुरालीबाट थोरथोरै साथ पाएपछि उनले विर्तामोडमा जग्गा व्यापार गरे। जग्गा व्यापार गरेको केही समयमै आर्थिक प्रगति गरे। उनी धनाढ्यको सूचीमा उदाएको भने २०६२/०६३ पछि नै हो।

त्यसपछि उनले भन्न थाले, ‘म विर्तामोडमा मेडिकल कलेज खोल्छु।’

न नर्सिङ कलेज, न अस्पताल सञ्चालनको अनुभव रहेका प्रसाईंले त्यसो भन्दा कसैले पत्याएका थिएनन्।

प्रसाईंले तीन वर्षअघि मेडिकल कलेजको कुरा उठाएका थिए। नभन्दै भौतिक पूर्वाधारको तयारीमा जुटे, अहिले सम्बन्धन लिने दाउमा छन्।

‘माओवादी द्वन्द्वको उत्कर्षपूर्व उनले भैंसी फार्म खोलेका थिए,’ प्रसाईंबारे बुझेका झापाका पत्रकारहरू भन्छन्, ‘उनको आर्थिक उन्नति एकदमै छोटो अवधिमा भएको हो।’

माओवादीसँग खासै ‘साइनो’ छैन। उनी आफैं भन्छन्, ‘मलाई माओवादीको नेता भन्छन्, म केही पनि हैन, म के को नेता हुनु?’

तर, द्वन्द्व उत्कर्षताका उनले माओवादीलाई सेल्टर दिएको, खाद्यान्न आपूर्तिमा सहयोग गरेका भने हुन्। ‘माओवादी हो भनेर एकपटक सेनाले समातेको थियो, आरोप पुष्टि हुन नसकेपछि छोडिदिएका हुन्,’ माओवादीका एक पूर्णकालीन सदस्य भन्छन्।

२०६२/०६३ पछि प्रसाईंले आर्थिकसँगै राजनीतिक फड्को मारे। त्यो पनि सिधै दाहालसँग। दाहालसँग उनको परिचय राजु आचार्यले गराएको चर्चा छ। आचार्य सञ्चारमन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव हुन्।

एयरपोर्टमा जोसुकै नेता उत्रिउन्, गाडी लिएर पुग्छन्। यस हिसाबले उनको सबैजसो पार्टीका केन्द्रीय नेतासँग ‘हिमचिम’ छ भनिन्छ। दाहालसँग भने कसरी यति निकट बने धेरैले आश्चर्य मानेका छन्।

झापामा जोसुकै नेतालाई चिया पिलाउन आफ्नो मेडिकल कलेज पुर्याउने प्रसाईंले केहीअघि स्वास्थ्य मन्त्री गगन थापा लैजान पाएनन्। केही नेताको पहलमा थापालाई प्रसाईंको अस्पताल जानबाट जोगाइएको थियो।

‘चिया, दारु जे ले स्वागत गर्नु भन्नुहुन्छ गर्छु, आजसम्म गरेकै छु, आउनुस्,’ उनले हाकाहाकी भने, ‘तपाईंजस्तै धेरै साथीहरूलाई गरेकै छु, पछि हट्दिनँ।’

बिएन्डसीको धाइजनमा १८ बिगाहा क्षेत्रफलमा जमिन छ। मुख्य बिल्डिङ विर्तामोडमा झन्डै डेढ बिगाहा क्षेत्रफलमा छ र त्यसमा आठ तले भवन। ‘मैले मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयले भनेको पूर्वाधार तयार पारेको छु,’ उनी भन्छन्।

वर्षमान पुन अर्थमन्त्री हुँदा उनलाई बैंकिङ ऋणमा सहयोग गरिएको बताइन्छ। झापामा कसैले इँटा, सिमेन्ट नदिने अवस्था आउँदा पुनले आर्थिक सहायताको वातावरण मिलाएको दाबी स्रोतहरू बताउँछन्।

दुई वर्षअघि बिएन्डसीको तीन सय शैया शुभारम्भ गर्दा दाहाल नै रिबन काटेका थिए।
   -सेतोपाटिबाट

Labels: Entertainment, Interview, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution