• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Interview, Photo, Technology » यस्ता छन् अब लागु हुन गईरहेका नयाँ " ट्राफिक नियम " हरू
यस्ता छन् अब लागु हुन गईरहेका नयाँ " ट्राफिक नियम " हरू

काठमाडौं, मंसिर २१ – काठमाडौं उपत्यकामा गाडीको चाप अत्याधिक भएपछि त्यसलाई व्यवस्थित गर्न ट्राफिक नियम कडाई गर्दै केही नयाँ नियम पनि लागु गर्ने तयारी भइरहेको छ । गाडी र मान्छेको चापले काठमाडौं उपत्यकाका सडक अस्तव्यस्त भएको भन्दै ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग, कार्यालय र उपत्यका ट्राफिक निर्देशनालयको संयुक्त प्रयासमा नियम कडाई गर्नुका साथै केही नयाँ नियम पनि लागु गर्ने तयारी गरिएको हो ।

उपत्यकामा झण्डै ४० लाख जनसंख्या र दैनिक १० लाख भन्दा बढीले यात्रा गर्नु, उपत्यका मात्रै १२ लाख गाडी चल्नु र साँघुरो बाटोका कारण दुर्घटना हुनुका साथै ट्राफिक जाम पनि हुने भएकाले केही नयाँ नियम लागू गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार दैनिक ५ जनाले गाडी दुर्घटनामा परि ज्यान गुमाउने गरेका छन् । भने दैकिक ३१ जना घाइते हुने गरेका छन् । यस्तै देशभर एक वर्षमा १७ सय ४४ जनाले गाडी दुर्घटनामा परेर ज्यान गुमाउने गरेको तथ्याङ्क छ । यस्तो कहालीलाग्दो गाडी दुर्घटना र चापलाई न्युनिकरण गर्न केही नयाँ नियम लागू गर्न लागिएको प्रवक्ता पाण्डेले बताउनुभयो । यस्ता छन् नयाँ नियमहरु  ।

सामान बोक्ने गाडीलाई कार्यालय समयमा चक्रपथ भित्र प्रवेश गर्न रोक

ट्राफिक चापलाई व्यवस्थित गर्न सामान बोक्ने साना तथा ठूला गाडीलाई कार्यालय समयभित्र रिङ रोडभित्र प्रवेश गर्न रोक लगाइने भएको छ ।

सामान बोक्ने, भ्यान, ट्रक लगायतका कुनै पनि गाडी कार्यालय समय बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न रोक लगाइने भएको छ । तर पानीका र तेलका ट्याङकरलाई भने चल्न पाउनेछन् ।

स्कुल बसलाई टाइम कार्ड

स्कुल बस पनि निश्चत समयमा मात्र गुडन् पाउने भएका छन् । अरु निजी गाडी जसरी स्कुल बस जुनबेला पनि गुड्न नपाउने गरी नियम बन्न लागेको छ । जस अन्तर्गत स्कुल बस बिहान साढे ९ बजे स्कुल हाताभित्र छिरिसक्नु पर्नेछ । बिहान साढे ९ बजेपछि कुनै पनि स्कुल बस सडकमा गुडेमा जरिवाना गर्ने गरी नियम बनाइने भएको हो ।

त्यस्तै दिउँसो विद्यार्थी पुर्‍याएर पुनः साढे ४ बजे स्कुल बस स्कुल हाताभित्र छिरिसक्नुपर्ने प्रवक्ता टोकराज पाण्डे बताउनुभयो ।  अहिले अरु गाडीलाई पनि विद्यार्थी बोक्न प्रयोग गरिंदै आइएको छ । नयाँ नियम लागू भएपछि गाडी भाडामा लिएर विद्यार्थी बोक्न पाइने छ्रैन ।

२० वर्ष पुराना गाडीलाई विस्थापित गरिने
पुराना गाडीले शहरी सुन्दरतालाई कुरुप बनाएको तथा ट्राफिक व्यवस्थालाई पनि अस्तव्यस्त बनाएको भन्दै २०७१ फागुन १७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै अबको दुई वर्षभित्र २० वर्ष पुराना भाडाका गाडी विस्थापित गर्ने जानकारी सार्बजनिक भएको थियो ।

राजपत्रको सूचना अनुसार अबको तीन महिनाभित्र २० वर्ष पुराना भाडाका गाडी  विस्थापित गरिसक्नु पर्ने हुन्छ । त्यसै अनुसार विभागले पनि काम गरिरहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । दुर्घटनाका मुख्य कारणमध्ये पुराना गाडी पनि भएको निष्कर्ष निकाल्दै विभागले अबको तीन महिनापछि २० वर्ष पुराना भाडाका गाडीलाई काठमाडौंबाट विस्थापित गर्न लागेको हो ।

काठमाडौं हुने प्रदुषणको कारणमध्ये ४० प्रतिशत कारण गाडीकै धुलो धुँवाका कारण हुने गरेको तथ्याङ्क छ । यस्ता पुराना गाडी काठमाडौंबाट विस्थापित गर्ने हो भने पनि यसको दर घटाउन सकिने भएकाले २० वर्ष पुराना गाडी हटाउन लागिएको विभागले जनाएको छ ।

दायाँ मोड्न नपाईने नियम हल्ला मात्रै

गाडी दाँया मोड्न नपाईने भन्ने नियमका बारेमा कुनै छलफल नभएको विभागले जनाएको छ । ‘यस बारेमा केही मिडियाले दायाँ मोड्न नपाईने भनेर समाचार लेखेपनि त्यसबारेमा कुनै छलफल भएको छैन, यो नियम लागू गर्न पनि त्यति नै गाह्रो छ’ यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भन्नुभयो ‘यो मैले भनेको व्यक्तिगत विचार हो विभागले यस बारेमा कुनै निर्णय गरेको छैन ।’

यि नयाँ नियमका बारे ट्राफिक प्रहरी महाशाखाले पहिला सचेतना गराएर मात्र नियम लागू गर्ने जनाएको छ ।

गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या आधाले घटाउने लक्ष्य

सन् २०१५ मा विश्व स्वास्थ्य संगठन डब्लुएचओले ब्राजिलको ब्रासिलियामा विश्व सम्मलेन गर्दै नेपालमा सडक दुर्घटनाबाट धेरै नागरिकले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरेको थियो । डब्लुएचओले अबको पाँच वर्षभित्र सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या आधामा झार्नु पर्ने बताएको थियो ।

डब्लएचओकै तथ्याङ्क अनुसार नेपालमा झाडापखलाबाट ४२ प्रतिशत मानिसले ज्यान गुमाउने गरेका छन् । त्यस्तै मुटुसम्बन्धी रोगबाट २५ प्रतिशत, क्यान्सरजन्य रोगबाट ११ प्रतिशत र गाडी दुर्घटनाबाट ७ प्रतिशत ज्यान जाने गरेको तथ्याङ्क छ ।

डब्लुएचओका  अनुसार अबको तीन वर्षभित्र नेपालले गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ दशमलव ५ प्रतिशतमा झार्नु पर्ने हुन्छ । यही लक्ष्य अनुसार विभागले तयारी गरेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो|

Labels: Entertainment, Interview, Photo, Technology

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution