• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, News, Photo, Sports » महिला हिंसा प्रतिवादका लागि आत्मसुरक्षा तालिम
महिला हिंसा प्रतिवादका लागि आत्मसुरक्षा तालिम


संयुक्त राष्ट्रसङ्घका अनुसार संसारका प्रत्येक ३ मध्ये १ महिला यौन तथा शारीरिक हिंसा भोग्न बाध्य छन् । हाम्रो जस्तो विकासशील देशमा हिंसा पीडित महिलाको आँकडा योभन्दा अझ बढी हुनसक्छ । महिला हिंसा न्यूनीकरणका लागि धेरै संस्थाहरु खुलेका छन्, धेरै प्रयासहरु भएका छन् । तर पनि हाम्रो समाजमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको छैन । हिंसा भएपछि उपचार खोज्नुभन्दा हिंसा हुनै नदिन सकिन्छ । महिलामाथिको हिंसालाई केही हदसम्म कम गर्न सकिन्छ भनेर हाम्रो संस्था, महिला सशक्तीकरण नेपालले महिला र बालबालिकाका लागि आत्मसुरक्षासम्बन्धी तालिम दिँदै आएका छ ।

आत्मसुरक्षा भन्नाले कुनै पनि परिस्थितिमा आफूलाई सुरक्षित पार्ने क्षमताको विकास गर्नु हो । सामान्यतयाः मार्सल आटर्समा आत्मसुरक्षाका उपायहरु सिकाइन्छन् तर त्यो सिक्न वर्षौं लाग्छ, जुन सबैको पहुँचमा पनि हुँदैन । मार्सल आर्टसका केही प्रकारहरुबाट हामीले आत्मसुरक्षाका उपायहरु (steps)  तयार पारेका छौं जुन छोटो समयमा सामान्य मानिसले पनि सहजै सिक्न सक्छन् । बाटोमा हिँडिरहेका बेला हामीलाई जिस्क्याउने, बलात्कार गर्ने, घाँटी न्याक्ने र हतियारद्वारा आक्रमण गर्नेसम्मका घटनामा आत्म सुरक्षाका उपाय अपनाएर आफू र अरुलाई बचाउन सकिन्छ भनेर विभिन्न उपाय सिकाउने गर्दछौं । आत्म सुरक्षा तालिम आधारभूत र विशेष (एड्भान्स) गरी दुई चरणमा सिकाउँछौं । आधारभूत तालिममा तीन कुरा समावेश गर्छौं : जनचेतना जगाउनु (awareness), आवाज उठाउनु (raising voice) र शारीरिक तालिम (one to one training)  ।

हिंसालाई चिनौँ

आत्मसुरक्षा तालिमको पहिलो चरण जनचेतना जगाउनु हो । सबैभन्दा पहिले हिंसालाई चिन्नुपर्छ । हिंसा के हो ? किन हुन्छ ? भनेर थाहा पाएपछि मात्र त्यसलाई कसरी प्रतिवाद गर्न वा रोक्न सकिन्छ भन्ने कुरा आउँछ । महिलामाथि हुने, भइरहेका र हुनसक्ने हिंसाको जानकारी लिने; घरेलु हिंसा र बालबालिकामाथि हुने हिंसाका रुप के–के हुन् ? यौनहिंसा र यौन दुव्र्यवहार भनेको के हो ? यसका न्यूनीकरणका लागि के गर्न सकिन्छ ? यसलाई कसरी रोक्न सकिन्छ ? “मेरो शरीर मेरो अधिकार” आदि बारे अन्तक्र्रियात्मक रुपमा जानकारी दिइन्छ । यसमा महिलालाई मात्र नभएर पुरुषलाई पनि हामीले सहभागी गराउने गरेका छौं ।

चरम हिंसा एकै पटकमा हुँदैन

आत्मसुरक्षा तालिमको दोस्रो चरण आवश्यक ठाउँमा आवाज उठाउन घच्घच्याउनु हो । कोही पुरुषले एकै पटक कुनै पनि महिलामाथि चरम हिंसा गरेको हुँदैन । त्यो हदसम्म पुग्नुभन्दा अगाडि उसले हिंसाका केही चरणहरु पार गरेको हुन्छ । जस्तो कि बाटोमा, स्कुलमा या सार्वजनिक सवारी साधनमा बालिका वा महिला जिस्काउनेदेखि संवेदनशील अङ्गमा छुनेसम्मका हर्कत गर्दा पनि कसैले उसको प्रतिकार गरेन, कसैले केही भनेन भने उसको हौसला बढ्दै जान्छ र ऊ बलात्कार वा त्यस्तै केही ठूलो हिंसामा उत्रिएको हुन्छ । कुनै श्रीमानले श्रीमतीलाई एकै पटक मरणासन्न हुनेगरी पिटेको हुँदैन । पहिले सामान्य गालीगलौज गर्ला अनि सामान्य रुपमा हात उठाउला, उसको हिंसाको प्रतिवाद श्रीमतीले गरिन भने उसले गर्ने हिंसाकोे रुप बढ्दै जान्छ । त्यसैले हिंसा उन्मूलनका लागि हिंसालाई प्रारम्भिक चरणमा नै प्रतिकार गर्न जरुरी छ । आफू र अरुमाथि हुने कुनै पनि प्रकारका हिंसाविरुद्ध आवाज उठाउनु हिंसा उन्मूलनका लागि अत्यावश्यक छ ।

बलभन्दा बुद्धि लगाऔं

त्यसैगरी तेस्रो चरणमा आत्मसुरक्षाका लागि विविध शारीरिक तालिम दिने काम गरिन्छ । यसमा सबभन्दा पहिला आप्mनो शरीरलाई कसरी स्थिर बनाउने, कसरी प्रहारबाट बच्ने, आप्mनो शरीरको कुन भागलाई कसरी प्रयोग गर्नै आदि सिकाइन्छ । विविध परिस्थितिमा कसरी आफूलाई सुरक्षित पार्ने, अप्ठ्यारो परिस्थितिबाट कसरी आफूलाई निकाल्नेदेखि आवश्यक परेमा आफूलाई प्रहार गर्ने, हिंसा गर्न खोज्ने व्यक्तिलाई कसरी प्रतिवाद गर्ने र प्रतिकार गर्ने आदि सिकाइन्छ । प्रत्येक सहभागीलाई पालैपालो आत्मसुरक्षाका आधारभूत उपायहरु अभ्यास गर्न लगाइन्छ ।


आफू योग्य हुँदाहुँदै र इमानदारीपूर्वक काम गर्दगर्दै विनाकसुर छ वर्ष काम गरेको जागिरबाट निकालिनु पर्यो कारण म एउटी महिला हुँ र मैले मेरो हाकिमले चाहेजस्तो शनिबार उनीसँग कतै घुम्न जान मानिन । मेरै समकक्षी पुरुष साथीहरु बढुवा भइरहँदा म भने कामबाटै निकालिनुपर्यो ।

संस्था गठनको पृष्ठभूमि

त्यतिबेला म काठमाडौं महानगरपालिकामा अधिकृतको रुपमा कार्यरत थिएँ । महानगरपालिकाका तत्कालीन मेयरले प्रमोसन गरिदिन्छु भनेर विभिन्न बहानामा मसँग नजिकिन खोजिरहन्थे । प्रमोसनका लागि शनिबारको दिनमा मिटिङ बसेर छलफल गर्ने र त्यो पनि काठमाडौंदेखि अलि टाढाको रिसोर्टमा जानुपर्ने प्रस्ताव उनले पटक पटक राखेका थिए । मेरो प्रमोसनकै लागि मिटिङ राख्ने भए उनले आफ्नै अफिसमा राख्ने थिए । शनिबारको दिन कतै टाढा रिसोर्टमा घुम्न जाने र मिटिङ बस्ने मेरो प्रमोसनकै लागि हो भन्नेमा म विश्वस्त थिइन । त्यसैले उनको प्रस्तावलाई विभिन्न बहाना बनाई अस्वीकार गर्दै आएकी थिएँ ।

त्यतिबेला म एउटा एफएममा पनि कार्यक्रम प्रस्तोता थिएँ । शनिबारको दिन थियो । कार्यक्रम प्रस्तुत गरेर अफिसबाट बाहिरिन लाग्दा रिसेप्सनमा मेयरको फोन आयो । जरुरी कुरा भएकाले गाडी पठाएको छु, गाडीमा आउनू भने । मलाई निकै रिस उठ्यो । भोलिपल्ट अफिस पुग्न बित्तिकै मेयरको कार्यकक्षमा गएर एउटा जागिर खान र प्रमोसनका लागि तपाईंसँग रिसोर्ट धाउने महिलो होइन भनेँ । उनले त्यस्तो केही होइन, तिमै्र भलो गर्न खोजेथेँ भने । त्यो कुरो त्यतिकै साम्य भयो । पछि उनको कार्यकाल सकियो ।

जागिरबाट विनाकारण निकालिएँ
राजा ज्ञानेन्द्रको सिफारिसमा दोस्रोपटक उनै व्यक्ति मेयर भएर आए । आएको केही दिनमै मलाई जागिरबाट निकालिएको पत्र दिइयो । त्यस पत्रमा मलाई यो कारणले जागिरबाट निकालिएको हो भनेर केही पनि लेखिएको थिएन । के कारणले जागिरबाट निकालियो भनेर सोधिरहन मन लागेन । आवश्यक पनि ठानिन । उनले भनेजस्तो गर्न नमानेकै कारण मलाई जागिरबाट हटाइएको हो भन्नेमा म स्पष्ट थिएँ । आफू योग्य हुँदाहुँदै र इमानदारीपूर्वक काम गर्दगर्दै विनाकसुर छ वर्ष काम गरेको जागिरबाट निकालिनु पर्यो कारण म एउटी महिला हुँ र मैले मेरो हाकिमले चाहेजस्तो शनिबार उनीसँग कतै घुम्न जान मानिन । मेरै समकक्षी पुरुष साथीहरु बढुवा भइरहँदा म भने कामबाटै निकालिनुपर्यो ।


न्याय पाउने कुरामा विश्वस्त हुन सकिएन
न्याय खोज्न गएको भए हुन्थ्यो भन्ने अहिले लाग्छ तर त्यतिबेला मेरो विवाह भएको थिएन । अहिले जस्तो स्ट्रङ पनि थिइनँ । मेयर जस्तो ठूलो मान्छेसँग मुद्दा लड्दा उल्टै मलाई नै अरु तरिकाले फसाउने हुन् कि भन्ने डर लाग्यो । न्याय पाउने कुरामा विश्वस्त हुन सकिन र यत्तिकै चुप लागेर बसेँ ।

मसँग जीवन निर्वाहका लागि अरु पनि विकल्प थिए । त्यसैले मलाई ठीक नलागेको कुरामा आवाज उठाउन सकेँ । कलेजमा पढाउथेँ, एफएममा काम गर्थें । मसँग जागिरको विकल्प थियो । नगरपालिकाको काम छाडेर पनि अरु काम गरेर बाँच्न सक्थेँ । त्यसैले बोल्न सकेँ । तर एउटा प्रश्नले सधैँ झस्काउँथ्यो; यदि मसँग कुनै विकल्प नभएको भए ? यदि नगरपालिकाको जागिरले मेरो घर चलाउनुपरेको भए ?

सायद महिला भएकै कारण, आफ्नो हाकिमले भनेका कुराको प्रतिवाद गरेकै कारण मजस्तै विनाकारण जागिरबाट निकालिनुपरेका अरु कत्ति धेरै महिलाहरु होलान् । अझ विकल्प नभएका महिलाहरु सायद यौन हिंसा पनि सहन बाध्य होलान् भन्ने लागेर यत्तिकै चुप लागेर बस्न सकिन । केही फरक काम गर्नुपर्छ भन्ने लाग्यो ।

महिला सशक्तीकरण नेपाल
म र केही साथीहरु मिलेर ०६९ सालमा यो महिला सशक्तीकरण नेपाल नामको गैरसरकारी संस्था खोलेकी हुँ । अहिले गर्व लाग्छ । महिलालाई आत्मविश्वास बढाउने, महिलालाई सुरक्षित पार्ने कार्यमा काम गर्न पाएकोमा खुशी लाग्छ । २०६९ माघमा दर्ता गरी २०७० वैशाखदेखि आत्मसुरक्षा तालिम सञ्चालन गर्दै आइरहेको यस संस्थाले अहिलेसम्म करिब २५०० महिला तथा बालबालिकालाई तालिम दिइसकेको छ ।

सुरुमा आत्मसुरक्षा तालिम सञ्चालन गर्न सहभागी भेला गर्न पनि कठिन हुन्थ्यो भने अब कतिपय महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरुले हामीलाई बोलाउने गरेका छन् । आत्मसुरक्षा तालिमको लागि हाम्रो प्रशिक्षकहरु छन्; जो अधिकांश कराँतेका ब्ल्याकबेल्ट छन् । हामी कामकाजी महिला, समुदायका महिला, बालबालिका, किशोरीदेखि पुरुषहरुका लागि पनि आत्मसुरक्षा तालिम सञ्चालन गर्छौं । लक्षित समूहको आवश्यकताअनुसार कोर्स डिजाइन गर्छौं । तीन घन्टादेखि एक हप्तासम्मका आत्मसुरक्षा तालिम सञ्चालन गरीरहेका छौं ।

उपत्यकाका तिनै जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र पोखरासम्म हामीले तालिमहरु चलाएका छौं । यो वर्ष पूर्वमा इलाम र पश्चिममा दाङसम्म पुग्ने योजना छ । आउने दिनमा देशका सबै भागमा यस्ता तालिम चलाउन चाहन्छौं । हिंसालाई उन्मूलन गर्नका लागि महिलाहरु सशक्त हुन आवश्यक छ । यस अभियानमा पुरुषहरुको साथ पनि उत्तिकै महत्वपूर्ण छ ।

अन्त्यमा
सबै महिलालाई के भन्न चाहन्छु भने हिंसा सहेर नबस्नुहोस । हिंसाको तत्कालै प्रतिवाद गर्नुहोस् । तपाईं एकजनाले सहेको हिंसाले अरु धेरैको लागि हिंसा निम्त्याउँछ । हिंसाको प्रतिवाद नगर्ने हो भने हिंसा गर्ने व्यक्ति झनै हौसिन्छ । त्यसैले हिंसाको डटेर प्रतिवाद गरौं । साथै आफूले पनि कसैमाथि कुनै प्रकारले हिंसा नगरौं । भेदभाव र हिंसारहित समाज निर्माणमा सबैले योगदान गरौं ।

प्रस्तुतीः आस्था केसी

Labels: Entertainment, News, Photo, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution