• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Interview, News, Photo » बुढा र बुढीको राजधानी यात्रा
बुढा र बुढीको राजधानी यात्रा


बिहे गरेको तीन दशकपछि पहिलोपटक श्रीमानसँग जुम्लाभन्दा बाहिर पाइला राखेकी ५४ वर्षीय छमकला दमाइको काठमाडौं आगमन सुखद संयोगहरूले भरिएको थियो। आउनेबित्तिकै श्रीमान परिमलसँग उनी राजधानीको सुविधासम्पन्न कुमारी सिनेमा हल पुगिन्। सबैभन्दा अगाडिको लाइनमा बसेर सिनेमा हेरिन् जसका नायक र नायिका उनीहरू नै थिए।

अझ त्योभन्दा बढ्ता त दर्शकहरूले असाध्यै मन पराएको त्यो सिनेमा खुद उनीहरूकै कथामा उभिएको थियो। गाउँका सबै एक–एक गर्दै बसाइँ सरेर गएपछि न्यास्रिएकाहरूको कथा।

पूजा गुरुङ र विभूषण बस्नेतले तयार पारेको सिनेमा ‘दद्या’ काठमा ठड्याउँदै गरेका मानव मूर्तिहरूसँग न्यास्रोपन मेटिरहेका यी वृद्ध दम्पत्तिकै भोगाइमा उभिएको छ। त्यसैले त सिनेमा हेरिसकेपछि जतिबेला हल तालीले गुञ्जिरहेको थियो, त्यतिबेलै आफ्नै कथाले मुटु निचोरिएर यी दुवैको आँखामा आँसु बगेका थिए।

‘मेरै कथा पो देखाया छन्,’ आइतबार सेतोपाटीसँग कुरा गरिरहँदा अघिल्लो बेलुकीको घटना सम्झँदै उनी फेरि रुन थाले, ‘अन्तिममा शिरको टोपी निकालेर दद्यालाई लगाएको देख्दा मन गह्रुँगो भयो।’

परिमल र छमकला चिडियाखाना घुमिरहेका बेला हाम्रो भेटघाट भएको थियो।

‘स्यानो क्या, छमास्या बसेरो भन्दा उत्तै पो छ,’ आजसम्म सुन्दै मात्र आएको बाघ भरे हेर्दा त घोडाका छ महिने बच्चा जत्रै पो हुँदो रहेछ भनेर अचम्म परेकी छमकलाको प्रतिक्रिया थियो यो।

उता परिमललाई भने गैंडाको छालामाथि पत्यारै लागेन।

‘चिसो होइजाला भनेर छालाको बर्को ओढाएजस्तो पो देख्छु।’

उनको प्रतिक्रियाले हामी सबैलाई हँसायो।

जुम्ला सदरमुकामबाट एकदिनको पैदल हिँडेपछि पुगिने हाटसिंजा बासिन्दाका गतिविधि रोचक थिए। बाल्यकालमै पितासँग एकपटक नेपालगन्ज झरेकोबाहेक आजसम्म कहीँ कतै नपुगेकी छमकलालाई त जे देख्दा पनि अचम्म लागिरहेको थियो। उनी अत्यास लागेर केही बोलिरहेकी थिइनन्। अघिल्लो दिन सिनेमाहलका दर्शकले सोधेका प्रश्नको उत्तर नदिएजस्तै।

यो सिनेमा कसरी तयार भयो?

प्रश्नको जवाफ दिन विभूषण अघि सरे।

‘तीन वर्षअघि हामी दुई महिना लगाएर जाजरकोट हुँदै जुम्ला अनि मुगुको माथिल्लो भेगसम्म पुग्यौं,’ उनले थपे, ‘फिचर फिल्मको सम्भावना खोज्दै त्यो यात्रा गरेका थियौं।’

संगीतको काम गर्दै आएका विभूषणले यात्रा क्रममा धुनहरू खोजी गरेका रहेछन्। त्यसले विरानो ठाउँ पुगेका यात्रीलाई त्यतातिरको संस्कृति र परम्परा छाम्न सघाएको थियो। यसरी घुम्दै जुम्लाको विकट गाउँ पुग्दा त्यहाँ पुस्तैनी बाजा बजाउँदै आएका परिमलसँग भेट हुन पुग्यो। उनीहरूले सनइ बजाउन लगाएर त्यसको आवाज रेकर्ड गरे।

‘त्यो भ्रमणमा त्यति मात्रै काम भएको थियो,’ उनले भने, ‘पोहोर दोस्रोपटक जाँदा भने सिनेमा बनाउन टोली नै लिएर पुगेका थियौं।’

यसरी त्यो भेगमा पुगेर काम गर्दा सुरुमा उनीहरुको उद्देश्य फिचर फिल्म बनाउने थियो। तर, लगानी जुट्न सकेन। पैसा लगाउँछु भनेर अगाडि आएका फ्रान्सेली दम्पतीले पनि मिनमेख निकाल्न थाले। पछि हार खाएर उनीहरूले अनुसन्धानको एउटा पाटो मात्र समातेर छोटो सिनेमा बनाउने निधो गरे।

परिमल र छमकलाकै गाउँ हाटसिंजा र छेउको बोतामालिकामा सुटिङ गरियो। यसरी पाँच लाखको लागतमा बल्ल १७ मिनेट लामो ‘दद्या’ बन्न सफल भयो।

‘लामै बनाउने भनेर लेखेको स्क्रिप्टको एउटा पाटो मात्र समातेर जसोतसो छोटो तयार भयो,’ विभूषणले भने, ‘त्यसैलाई पनि दर्शकले मनपराइदिएकामा चित्तसम्म बुझाएका छौं।’

उनीहरूको यो सिनेमाले बनेको केही महिनाभित्रै टोरन्टो र भेनिस फिल्म फेस्टिभलमा छनौट हुने सौभाग्य पाइसकेको छ भने सोमबार सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा आख्यानतर्फ सर्वोत्कृष्ट सिनेमाको उपाधिसहित ७५ हजार रुपैयाँ नगद जितेको छ।

विभूषणले बोल्दाबोल्दै यो सिनेमाबारे आफ्ना भनाइ राख्न परिमल अघि सरे।

‘दद्याको खेलो के हो भन्दाखेरि बस्ती उठीगएको कारणले बोतामालिकामा अब कोही कोही मान्छे मात्र बस्छन्। बर्खाका दिनमा बस्छन्, हिउँदोको दिनमा बस्दैनन्। त्यही गाउँमा गएर दद्या (मूर्ति) को बाक्ट्या (मास्क) बनाएर तयार पार्ने हो। बाक्ट्याको प्रयोग स्थानीय हिसाबले विभिन्न अवसरका नृत्यहरूमा, लाखे नाचमा प्रयोग हुन्छ। यो दद्या भनेको उहिलेको परम्परा हो। नयाँ रचाएको होइन।’

आफन्तहरू बसाइ सर्दै गएपछि दद्या बनाउँदै तिनै मूर्तिसँग रमाउँदै आएका परिमल दम्पतीको आफ्नो भोगाइ पनि यसमा मिसिएको रहेछ।

उनका भाइ अजय त्यस भेगमै नामी सनइवादक थिए। परिमलले दमाहा मात्र बजाउँथे। भाइ बसाइसराइँ गरेर काठमाडौं पुगेपछि गाउँमा उनी एक्लिए। भाइले छाडेर गएको सनइ पनि आफैंले बजाउनुपर्ने भयो।

यी दम्पतीका चारभाइ छोरा र दुई छोरी जन्मेका थिए। एउटा छोरा जन्मनेबित्तिकै मरे भने तीनवटा छोरा ०५३ सालमा एक सातामै लगालग मरे। एघार, सात र चार वर्षका ती छोरा कुन रोग लागेर कसरी मरे भन्ने उनीहरूले पत्तो पनि पाएनन्।


‘दुइटी छोरी पनि हुर्केपछि तल तराईमा पोइल गए,’ आँसु पुछ्दै भने, ‘त्यसपछि नै मैले गइजान्छौं भन्या हो। तर, यिनी (श्रीमती) ले नाइँ नाइँ, जान्या होइन भनिन्। हाम्रा भाइछोरा ज्वाइँहरू आइजान्छन्। तल आया भने हामीलाई खाना दिइहाल्छन्। हामीन पालिहाल्छन्। नभए दद्याका थोला हेरौंला खाउँला। (दद्याको अनुहार हेरेर चित्त बुझाउँला)’

सिनेमा कस्तो लाग्यो?

‘मलाई त एकदम राम्रो लाग्यो हेर्नुस्,’ परिमलले थपे, ‘एकदमै खुसी लाग्यो। सबैभन्दा पहिले मेरो सनाइका बाजा तन्केर आएको छ क्या। बड्डी पनि सानी ज्यानकी मान्छे अन्वार ठूलो आएछ। बड्डीले बोलेको पनि आएछ।’

कुरा सुनेर सबै हाँस्न थाल्यौं।

‘हाँस्नु पनि पर्छ,’ परिमल खुदै पनि भन्न थाले, ‘रोएर मात्रै अब ती आउने छैन त।’

छोराहरूको मृत्यु र भाइले गाउँ छाडेपछि नियास्रिएका यी दम्पतीलाई उनीहरूकै भोगाइमा यसरी कुनै दिन सिनेमा बन्छ भन्ने लागेकै थिएन। उनले बजाउने गरेको बाजासम्म चाहिँ कसैले खिचिदिन सक्छ भन्ने अनुमान मात्र थियो।



‘काठमाडौं भनेको त राजधानी पो,’ उनले दंग पर्दै थपे, ‘त्यत्रो भेलामा मेरो नाम प्रख्यात पार्या छन्। म बाजाकै मान्छे हुँ। मेरा भाइछोराहरूले यस्तरी सिनेमा बनाएर मेरा नामका कीर्ति राख्या छन्। भोलि म नहुँला, मेरी छोरीले हेरली। ज्वाइँले हेरेनन् भने पनि भाइका छोराले हेर्लान्। मेरा बुबाले यस्ता गरेछ भननन्। मलाई रमाइलै लाग्यो। बिरमाइलो लाग्या छैन हेर्नुस्।’

अब के छ त इच्छा?

‘कठ्ठा हजुर, अब इच्छा क्या होला?’ उनले भने, ‘सिनेमा आइगयो। आब मन अलमली कलमली गरेर भएन। गाउँ जान्या हो। बाजासाजा बजाउने हो। लुगा पनि अलिअलि सिलाउँछ।’

उनले लगाएको दौरा, सुरुवाल, कोट सबै आफैंले सिएको भनेर देखाउन थाले।

यतिञ्जेल सँगै बसेर श्रीमानसँग कुराकानी गरिसकेपछि अब भने छमकलाको पनि हल्का धक फुकेजस्तो लाग्यो।

कस्तो लाग्यो त बड्डीलाई काठमाडौं?
‘नरमाइलो केही छैन। सप्पै रमाइलो लाग्या छ,’ उनले थपिन्, ‘अब हाम्मामा के छ? खन्दा छन्, ढुंगा फाल्दा छन्, ढुंगा बोक्ता छन्। दाउरो बोक्ता छन्। त्यहाँ हिउँ आउन्छ।’

गाउँमा एक घन्टा परको पाण्डुगुफा माइती रहेकी छमकलालाई बिहे भएको यत्रो वर्ष बित्दा श्रीमानसँग कतै घुम्न जाने मन भएन?

यो प्रश्नमा उनले उल्टो ‘किन घुम्ने, बच्चाहरू कस्ले हेर्छ?’ भनेर सोधिन्।




गाउँमै एकतमासले बितिरहेको उनको जीवनमा दस वर्षअघि एउटा गजबको घटना भइदियो। उनको शरीर अचानक काँप्यो। ख्वै किन हो थाहा छैन, शरीर त्यसपछि बारम्बारै काँप्न थाल्यो। रमाइलो चाहिँ के भइदियो भने यसरी बारम्बार काँप्न थालेपछि पर–परका गाउँले पनि चामल र पैसा बोकेर आउन थाले।

‘केही आएजस्तो हुन्छ, हल्लाउँछ,’ उनले भनिन्, ‘यस्तो बेला मैले छाहा लाग्या (तर्सेका झस्केका) मानिसलाई चामल टिपेर फालिदिएपछि निको हुन्छ।’

मान्छे श्रद्धा गरेर हेराउन आउने र पैसा पनि चढाउने गर्न थालेपछि गाउँलेकै इच्छाअनुसार श्रीमतीलाई चोखो खानेकुरा मात्र खान दिने गरेको परिमलले बताए। उनका अनुसार दिनको एक–दुई जना थोरै चामल र पाँच रुपैयाँ दाम बोकेर आएकै हुन्छन्।

कुरा गरिरहेकै बेला परिमलको गोजीबाट अचानक आवाज आयो। सस्तो मार्काको मोबाइल रहेछ। फोन उनकै छोरी लक्षिमाले बर्दियाबाट गरेकी रहिछन्। उनी बोल्दै गए–

‘आज चिडियाखान हेराउँदा छन्। अरू साथी पत्रकारहरू आया छन्। क्या क्या गरेउ। कस्तो गरेउ, खेल भनेर निम्ति अहिले हामी बस्या छौं। बाघ हेरि ल्याम्। अझ भैंसा हेरेम्। जरायो हेरेम्। त्यहाँ भालु हेरेम्। अहिले सिरकामा बस्या छम्।’

फोन राखिसकेपछि परिमलले छोरीका बारेमा पनि बताउन थाले।

‘ज्वाइँ मोटाघाटा छन्,’ उनले दंग पर्दै भने, ‘दुईवटी श्रीमती छन्।’

रुकुमबाट बिहे गरेको जेठी पत्नीबाट छोरा नजन्मेपछि आफ्नी छोरी बिहे गरेको उनले बताए। परिमलको छोरीबाट पनि जेठी त छोरी नै जन्मेर सुरुमा त आपत परेको थियो। तै, दोस्रो बच्चा छोरा भइदिएछ।

‘म कालेलाई खेलौना मोटर ल्याइदिन्छु है,’ उनले नातिनीसँगको कुराकानीमा भनेका थिए।

परिमल र छमकलासँग कुरा गरिरहँदा एकपछि अर्को समाजशास्त्रका रोचक पन्ना पल्टिएजस्तो भइरहेको थियो। तै यसलाई टुंगोमा पु¥याउनुको विकल्प थिएन।

मैले पूजासँग उनीहरूको आगामी योजनाबारे सोधेँ।

‘हामी अब फिचर फिल्मको तयारीमा लागेका छौं,’ उनले भनिन्, ‘लेख्ने काम पाँचौं ड्राफ्टमा पुगेको छ।’



लगानी जुटाउन नसकेरै पहिलो फिचर फिल्मलाई छोटो आकारमा ल्याउन बाध्य भएका उनीहरू अब भने गतिलै तयारीमा लागेका रहेछन्। प्रतिस्पर्धा गरेर विदेशतिरबाट मिल्ने अनुदानको खोजी सुरु भइसकेको छ। फ्रान्सबाट त त्यसका निम्ति हरियो झन्डा पनि उनीहरूले देखिसकेका छन्।

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ‘सिने फाउन्डेसन’ ले हरेक वर्ष संसारकै सर्वोत्कृष्ट १२ वटा सिनेमालाई आर्थिक सहयोग गर्ने गरेको छ। त्यो प्रतिस्पर्धामा सरिक उनीहरूलाई केही अघिमात्र फाउन्डेसनले फ्रान्स बोलाएर प्रक्रियाको विकासक्रम बुझाउनुका साथै त्यहाँको सिने बजारबारे जानकारी गराएको थियो। अन्तिम टुंगो नआइसकेको भए पनि यसलाई आर्थिक सहयोग दिने मनसायका रूपमा यी निर्देशक जोडीले बुझेका छन्।

उनीहरूको आगामी सिनेमा पनि अहिलेसम्म जुम्लालाई नै केन्द्रमा राखेर लेखिएको छ। कथा भने एउटा बाल मिलिसियाको भोगाइबाट अघि बढ्छ। सशस्त्र द्वन्द्वको अन्तिम तीनवर्षे घटनाको सेरोफेरोमा यसका कथा घुमेका छन्।

यो सिनेमाका निम्ति डेढ वर्षभन्दा अघिदेखि काम थालेको उनीहरूले बताए। अहिलेसम्म लगानी खोज्नमै व्यस्त रहेको र सुटिङ थालेपछि पनि तीन वर्षका दृश्य देखाउनुपर्ने भएकाले कति समय लाग्छ भन्ने उनीहरूलाई यकिन छैन।

‘फ्रान्सबाट आर्थिक सहयोग मिल्यो भने पनि त्यो एउटैले सिंगो सिनेमाको बजेट भ्याउँदैन,’ उनीहरूले भने, ‘अन्तबाट पनि पैसा खोज्नुपर्छ।’

यस्तो अवस्थामा प्रयास गर्दै जाने र यता आफूहरूको सीमितताभित्रै रहेर काम पनि अगाडि बढाउँदै लैजाने जानकारी पूजा र विभूषणले दिए।

नौ वर्षअघि एउटा ग्यालरीमा भेटिएपछि सँगसँगै काम र जीवन बिताउँदै आएको यो जोडीले सबैभन्दा पहिले छोटो फिल्म ‘चंगा’ बनाएको थियो। पूजा त्यसअगावै च्यानल नेपाल, कान्तिपुर टेलिभिजन र इमेज च्यानलमा कार्यक्रम चलाइसकेकी थिइन्। उनले बनाएका म्युजिक भिडियोहरू पनि चर्चित थिए।

यो जोडीको पहिलो सिनेमा ‘चंगा’ मा पूजाको निर्देशन थियो भने विभूषणले संगीत र लेखनमा काम गरेका थिए। त्यसपछि उनीहरूले मिलेरै निर्देशन गरेको यसअघिको अर्को छोटो फिल्म ‘डम्बरे डेन्ड्राइटको सरुवा सपना’ पनि देशभित्र र बाहिरका थुप्रै महोत्सवमा पुगिसकेको छ।

यतिबेला छायांकनदेखि सम्पादनसम्म उनीहरूको टिम नै तयार भइसकेको छ। पैसा कमाउनेभन्दा केही गरेर देखाउने अठोटले बाँधिएको यो टिमलाई नै पछिसम्मै निरन्तरता दिने उनीहरूको सोचाइ छ।

‘सिनेमा बनाउन माटो र ढुंगा समात्ने काम गर्दै आएका छौं,’ आफ्नो कामगराइबारे पूजाले भनिन्, ‘यसरी माटोढुंगा समातेकै बेला कहिलेकाहीँ देउता पनि भेटिन सक्छ।’

पूजाका यी भनाइसँगै चिडियाखानाको रमाइलो कुनामा जुम्ली कलाकार परिमलले भाका हालेर गाएको गीतसुनिन थाल्यो–

कर्णालीजसो लामो माया
रारा तालभन्दा गहिरो माया
सगरमाथाभन्दा अल्को
न म तम्रो, न तमी मेरी
लाइरन्या झझल्को

गाउँदा गाउँदै परिमल त ‘ए लाइरन्या झझल्को’ भन्दै छमछमी नाच्न पो थाले।
सेटोपाटि बाट

Labels: Entertainment, Interview, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution